काठमाडौं, माघ १२ । अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरी दोषीलाई मृत्युदण्ड दिइएको छ ।
अलाबामाका ५८ वर्षीय केनेथ युजिन स्मिथलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको हो । दोषीलाई नाइट्रोजन सिलिन्डरसँग जोडिएको मास्क लगाएर अक्सिजन लिनबाट वञ्चित गरिएको थियो ।
नाइट्रोजन ग्यास दिएर गरिएको यो मृत्युदण्डको विधि अमेरिकामा पहिलो पटक प्रयोग गरिएको हो । यसअघि नोभेम्बर २०२२ मा स्मिथलाई घातक विषादीको सुई दिएर मृत्युदण्ड दिने प्रयास गरिएको थियो । तर उनको नशामा सुइ घुसाउने प्रयास असफल भएपछि सजाय रोकिएको थियो ।
मृत्युदण्डको यो विधिलाई क्रूर, अमानवीय भन्दै रोक्नु पर्ने आवाज पनि उठेको छ । नाइट्रोजन-ग्यास मृत्युदण्ड रोक्न स्मिथका वकिलले गरेको पुनरावेदनलाई अदालतले अस्वीकार गरेपछि बिहीबार मृत्युदण्ड दिईएको हो ।
सन् १९८८ को मार्चमा एक हजार डलर पाउने आशमा एलिजाबेथ सेनेटको हत्या गरेको घटनामा स्मिथ र अर्का एक व्यक्ति दोषी ठहर भएका थिए ।