काठमाडौं, माघ १४ । आज काठमाडौंको उपत्यकाको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ, जुन आजसम्मकै कम तापक्रम हो । हिजो काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्रीसम्म झरेको थियो ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, राती कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।