काठमाडौं, माघ १४ । ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी राईविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी भनिने गितेन्द्रबाबु राईविरुद्ध सहकारी ठगीको मुद्दामा शुक्रबार इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजि कार्य गर्नेछन् । उनलाई भेट्नासाथ नेपाल फर्काउने प्रक्रिया सुरु हुनेछ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न गत मंसिर अन्तिम सातामै प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो । सोही पत्रअनुसार इन्टरपोलको नेपाल शाखा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंले प्रहरी अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गरेको थियो।
उक्त सहकारी ठगीमा १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो।