Kath khabar
आज देशका केही भागमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना

 

                काठमाडौं, माघ १७ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

लुम्बिनी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका अधिकांश तराई भू-भागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भू-भागका केही स्थानमा फटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुने असरका साथै चिसोबाट बच्न आवश्यक उपाय  अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अबका तीन दिन विशेष गरी पश्चिमी भेगसँगै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने सम्भावना छ । आज र भोलि तापक्रम घटेर देशभर चिसो बढ्न सक्ने मौसमविद् नगरकोटीले बताउनुभयो ।

पर्सि शुक्रवार देखि क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने अनुमान छ । आज काठमाडौं उपत्यकाको मौसम बदली हुने सम्भावना रहे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update