इस्लामाबाद, माघ १७ । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय सुनाइएको छ । वासिङटन र इस्लामाबाद बीचको गोप्य दस्ताबेज सार्वजनिक गरेको अभियोगमा विशेष अदालतले मंगलबार खानलाई उक्त सजाय सुनाएको हो ।
अदालतले इमरान खानको पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) पार्टीका उपाध्यक्ष तथा पूर्वविदेशमन्त्री साह महमुद कुरैसीलाई पनि १० वर्ष जेल सजाय सुनाएको छ । रावलपिन्डीको अदियाला जेलभित्र स्थापित विशेष अदालतले उनीहरू दुवैलाई उक्त सजाय सुनाएको हो । दुवैलाई आदिया जेलमा राखिएको छ ।
गोप्य ऐनअन्तर्गतको सजाय आमचुनावको एक साताअघि आएको छ, जसमा उनलाई उम्मेदवार हुनबाट रोक लगाइएको छ । साइफर घटना समेत भनिने उक्त मुद्दा खान प्रधानमन्त्री हुँदा वासिङटनस्थित पाकिस्तानी राजदूतले इस्लामाबादमा पठाएको गोप्य कूटनीतिक पत्राचारको चुहावटमा केन्द्रित छ । प्रधानमन्त्री हुँदा वासिङटनस्थित पाकिस्तानी दूतले इस्लामाबाद पठाएको गोप्य कूटनीतिक पत्र चुहावट गरेको खानमाथि आरोप लागेको छ ।
सन् २०२२ मा विश्वासको मत प्राप्त गर्न नसके पछि पदमुक्त भएका खान भ्रष्टाचार अभियोगमा दोषी ठहरिए पछि हाल ३ वर्षको जेल सजाय भोगिरहेका छन् । उनले आफूमाथि लगाइएका सबै आरोप राजनीति प्रेरित भएको बताएका छन् । पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध लगाइएको आरोप अमेरिकी षड्यन्त्र भएको दाबी गर्दै आएका छन् । उनको पिटिआई पार्टीले झुटो मुद्दामा सजाय सुनाइएको प्रतिक्रिया दिएको छ । विशेष अदालतको आदेश विरुद्ध उच्च न्यायालयमा चुनौती दिने पार्टीले जनाएको छ ।
पाकिस्तानमा निर्वाचन हुनुभन्दा एक साताअघि पूर्वक्रिकेटर समेत रहेका खानमाथि अदालतले उक्त सजाय सुनाएको हो । ८ फेब्रुवरीमा पाकिस्तानमा आमनिर्वाचन हुँदै छ । खानलाई यसअघि नै उम्मेदवार हुन वञ्चित गरिएको छ ।