काठमाडौं, माघ १८ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्का वर्षासहित मध्यम हिमपात भइरहेको छ ।
आज काठमाडौंसहित बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । साथै देशका मध्य तथा पुर्वी तराईका थोरै स्थानहरुमा हुस्सु समेत लागेको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला र मुगुमा गएरातिदेखि हिमपात सुरु भएको छ।
अहिले काठमाडौँको वायुको तापक्रम १२ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता दुई हजार पाँचसय मिटर रहेको महाशाखाले जनाएको छ । यसैगरी काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव तीन डिग्री रहेको तथा आज अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद्ले जानकारी दिए ।
यसैगरी आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।