मकवानपुर, माघ १९ । मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बिहिबार साँझ हिमपात भएको छ ।
हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायीलगायत खुसी भएका छन् । दामन सीमभञ्ज्याङ क्षेत्रबाट हिमश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ। पछिल्लो समय थानकोटबाट चन्द्रागिरि हुँदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सीमभञ्ज्याङसम्म साइकलमा यात्रा गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।
यस्तै, चन्द्रागिरिमा पनि साँझपखदेखि हल्का हिमपात भएको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरका पूजारी बिदुर न्यौपानेले जानकारी दिए । पश्चिमी वायुको प्रभावले हिजो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका धेरै ठाउँमा मध्यम तथा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो ।