Kath khabar
बाँसबारी जग्गा हिनामिना सम्बन्धि मुद्दा अनुसन्धान सकाएर तत्काल बुझाउन सिआइबीमाथि दबाब

 

                      काठमाडौं, माघ १९ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी हिनामिनासम्बन्धि मुद्दा तत्काल अनुसन्धान सकाएर बुझाउन सिआइबीमाथि दबाब परेको छ । मुद्दा आजै बुझाउनु भन्ने दबाब आएको सीआइबीको स्रोतले जनाएको छ ।

यस अनुसन्धानका लागि चौधरी समूह व्यवसायी अरूण चौधरीसहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई बिहीबार दिउँसो सिआइबीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ । उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोदकुमार चौधरी, अरूणकुमार चौधरी लगायत रहेका थिए। कुनै समय उक्त जग्गा दिएवापत बाँसबारी छाला तथा जुत्ता कारखाना समेत सेयर सदस्य बनेको थियो।

पक्राउ पश्चात उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा चिरायु भर्ना भएका छन् ।  व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई मुटुको समस्या र चौधरीलाई सुगर प्रेसरको समस्या रहेको भन्दै अस्पताल भर्ना गरिएको हो ।

 नेपालमा पछिल्ला दिनहरुमा कुनैपनि आरोपमा पक्राउ परेका विभिन्न उच्च पदस्थ व्यक्तिहरु हिरासतमा बस्न छाडेर अस्पतालको भीभीआईपी कक्षमा बस्ने गरेका छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update