Kath khabar
पश्चिमी वायुको प्रभावले आज हल्का वर्षा र हिमपातको सम्भावना

 

                     काठमाडौं, माघ २१ । पश्चिमी वायूसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आजबाट नेपालको धेरै स्थानहरूमा साधारणतया बदलीको सम्भावना रहेको छ ।

यस प्रभावका कारण आज आइतबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । साथै सोमबार साँझबाट क्रमशः मौसममा सुधार हुँदै जाने मौसम विज्ञान विभागले जनाएको छ ।

बिहानदेखि सुदूरपश्चिममा पानी पर्न थालेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा पनि बिहानदेखि हल्कादेखि मध्यम हिमपातको भइरहेको छ ।

अहिले काठमाडौंको आजको न्यूनतम तापक्रम चार दशमलव छ डिग्री रहेको तथा आज अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविदहरुले जानकारी दिए।

आज राति देशभरको मौसमम आंशिक बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update