Kath khabar
चिलीको जंगलमा भिषण डढेलो लाग्दा ५१ जनाको मृत्यु

 

                   काठमाडौं, माघ २१ । चिलीको भाल्पाराइसो क्षेत्रको जंगलमा लागेको भिषण आगलागीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

चिलीका आन्तरिक मन्त्री क्यारोलिना तोहाले हाल देशको केन्द्र र दक्षिणमा ९२ वटा जङ्गलमा आगो लागेको बताइन्, जहाँ तापक्रम यस हप्ता असामान्य रूपमा उच्च भएको छ। शहरको पूर्वी छेउमा रहेको पहाडी इलाका भिला इन्डिपेन्डेन्सियामा धेरै घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।

आगलागीबाट समुद्री किनारको पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्। भिना डेल मार सहरका मेयरले सहरका २०० भन्दा बढी बासिन्दा बेपत्ता भएको बताएका छन् । भल्पराइसो क्षेत्रमा आगो नियन्त्रण गर्न १९ हेलिकप्टर र ४५० भन्दा बढी अग्निनियन्त्रकहरू यस क्षेत्रमा ल्याइएको बताइएको छ ।

आगलागीका कारण ब्ल्याकआउट पनि भएको बताइएको छ । भल्पराइसो क्षेत्रमा चारवटा अस्पताल र वृद्धवृद्धाका लागि तीन नर्सिङ होमहरू खाली गर्नुपरेको अधिकारीहरूले बताए।

राहत र उद्धार टोलीका कर्मचारी प्रभावित क्षेत्रमा पुग्न संघर्ष गरिरहेका छन् ।  गृह मन्त्रालयका अनुसार यस आगलागीबाट देशभर ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल प्रभावित भएको छ । सामान्यभन्दा बढी गर्मी र तेज हावाका कारण आगलागी भएको हो ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update