Kath khabar
पूर्वसांसद इच्छाराज तामाङलाई १ अर्ब ७२ करोड जरिवानासहित ३ वर्ष कैद

 

                    काठमाडौं, माघ २२ । सिभिल सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना हुने विशेष अदालतले फैसला गरेको छ। 

सिभिल सहकारीका सञ्चालक समेत रहेका इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश जारी गरेको हो। विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना पनि तोकेको छ ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई आइतबार सजाय तोकेको हो ।

तामाङकी श्रीमती श्रृजना शाक्य तामाङलाई १ वर्ष ६ महिना कैद र १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। अर्का प्रतिवादी केशवलाल श्रेष्ठको १ वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ बिगो भराउने फैसला सुनाएको छ।

त्यस्तै, प्रतिवादीहरु इच्छाराज तामाङ र सिर्जना शाक्यले छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा लुकाएको सम्पत्ति तथा प्रतिवादी केशवलाल श्रेष्ठको श्रीमती मीना श्रेष्ठको नाममा राखिएको सम्पत्ति समेत जफत हुने फैसला गरिएको छ । 

विशेष अदाललते पूर्व सांसद एवं व्यवसायी तामाङसहित उनको परिवारका केही सदस्यलाई सम्पत्ति शुद्धीकरण मुद्दामा माघ ७ गते दोषी ठहर गरेको थियो।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update