काठमाडौं माघ २३ । बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी चौधरीसहित तीनजनालाई मंगलबारसम्म छाड्न जिल्ला अदालत काठमाडौंले सोमबार आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले थप अनुसन्धानका लागि आज मंगलबार सम्मको म्याद दिएर त्यसपछि अनुसन्धान आवश्यक परे हिरासतबाहिर राखेर कारबाही अगाडि बढाउन सीआईबीलाई आदेश दिएको हो । दोस्रो पटक म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार अदालतमा उपस्थित गराएको थियो ।
'यी प्रतिवादीहरुबाट थप बुझ्नु पर्ने वा कागज गराउन नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाडन सक्ने र सो नभएमा म्याद थप भएको दुई दिनभित्र यी प्रतिवादीहरुबाट अब बुझ्नुपर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्पन्न हुन नसक्ने भएमा निजहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्नु भनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम यो आदेश गरी दिएको छ।’ अदालतले आदेशमा भनेको छ ।
गत बिहीबार च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका व्यवसायी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।