काठमाडौं, माघ २३ । काठमाडौं धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ । करिव एक महिना अगाडि देखि संचालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी छन् ।
सोमबार एक औपचारिक कार्यक्रमका बीचमा उद्घाटन भएको ‘उप्स’ मा बच्चादेखि सिनियरसम्मले खेलको मनोरन्जन लिन सक्नेछन् । आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इण्डोर र आउटडोर खेलहरुको मनोरन्जन पार्कमा लिन सकिनेछ । सस्तो मूल्यमा धेरै खेलहरु एकैठाउँ खेलेर मनोरन्जन लिनु यो पार्कको मुख्य बिशेषता हो । साथै स–परिवार एकसाथ रुपमा पार्कमा गएर समय व्यतीत गर्न सकिनेछ ।
अभिनेत्री प्रियंका कार्कीले सोमबार आयोजित एक भव्य कार्यक्रमको बीचमा ‘उप्स’ को उद्घाटन गरेकी छन् । रिबन काट्दै प्रियंका र संचालक टिमले औपचारिक उद्घाटन गरेका हुन् । संचालक टिमलाई शुभकामना दिन गायिका इन्दिरा जोशी आफ्ना श्रीमानसँग पुगेकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रियंकाले सबै प्रकारका खेलहरु खेल्न सकिने ठाउँ आकर्षक बनेको बताइन् । प्रियंका भन्छिन्, ‘सबै परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेलहरु एकै ठाउँमा पाए । ठुलो स्पेसमा भएको कारण पनि धेरैले एकसाथ खेलको मज्जा लिन पाउनुहुनेछ। ‘ छोरी आयंकासँग पुगेकी प्रियंकाले चाडै नै श्रीमान् आयुष्मान देशराज जोशी र परिवार नै लिएर आउने जानकारी गराइन् ।
भारतमा स्तिथ होप उप भनिने फनपार्कको सहयोगमा यो फेमिली फन पार्क नेपालमा संचालनमा आएको हो । नेपालकै पहिलो यो फेमिली फन पार्कलाई देशका अन्य स्थानमा पुर्याउने योजना संचालक टिमले बनाएको छ । बिभिन्न खेलको मज्जा एकै ठाउँ दिएर परिवारलाई नै मनोरन्जन दिलाउनु फन पार्कको मुख्य उद्देश्य हो ।