Kath khabar
प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफको माग, ९० प्रतिशत गुलाफ भारतबाट आयात

 

                     काठमाडौं, माघ २४ । आजबाट प्रणय दिवस सप्ताह सुरु भएको छ । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । फेब्रुअरी १४ तारिखमा पर्ने प्रणय दिवस एक हप्ताअघिदेखि नै मनाउने प्रचलन छ ।

प्रेमको प्रतीक मानिने रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ ।

एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताउनुभयो । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उहाँको भनाइ छ । यस वर्ष रातो गुलाफ प्रतिस्टिम रु ८० देखि एक सयसम्म पर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष तामाङका कूल मागको ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने बताउनुहुन्छ । प्रणय दिवसमा मात्रै रातो गुलाफको कारोबार रु तीन करोड ५० लाखको हुने उहाँको भनाइ छ । उहाँले वार्षिक रु तीन अर्ब सात करोडको फूलको कारोबार हुने गरेका बताउनुभयो ।

रातो गुलाफ विशेष गरी काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिकरुपमा लगाउने गरिएको छन् । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग छ सय ७५ विभिन्न किसिमका पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

व्यावसायिकरूपमा चार सय ५० प्रजातिका गुलाफ नेपालमा उत्पादन हुँदै आएको छ। पुष्प व्यवसायमार्फत ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update