Kath khabar
क्यानडाविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल
Photo : CAN


                   काठमाडौं, माघ २५ । आजबाट कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु भएको क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारी स्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् । नेपाल र क्यानडा यस सिरिजको खेलमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् ।

आजको खेलमा नेपालका दुई खेलाडी बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल र सूर्य तामाङले डेब्यु गरेका छन् । भर्खरै सकिएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उनीहरु दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए । करण केसीलाई यस सिरिजमा विश्राम दिएको हुँदा रिजनले खेल्ने मौका पाएका हुन् ।

नेपालको प्लेइङ ११ मा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख (विकेटकिपर), ललित राजवंशी र सोमपाल कामी छन् भने बेञ्चमा हेमन्त धामी, आकाश चन्द, अनिल शाह, देव खनाल छन् ।

यस प्रतियोगिताको दोस्रो खेल आउँदो शनिबार र अन्तिम खेल सोमबार हुनेछ । यो खेल एक्सन स्पोर्ट्स एचडी र डिसहोम गोमा प्रत्यक्ष प्रसारण हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update