Kath khabar
तामाङ समुदायले मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष आज मनाइँदै

 

                    काठमाडौं, माघ २७ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६० औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिनुभयो । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्ष आज मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गर्दछन् ।

यसैगरी राजधानीको स्वयम्भू क्षेत्रका चैत्यमा आन्तरिक रुपमा मात्र पूजा पाठका कार्यक्रम गरी ल्होसार मनाइने बताइएको छ । काठमाडौंको टुँडिखेल लगायत देशका अन्य भागमा पनि ल्होसार मनाइने तयारी भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update