भक्तपुर, माघ २८ । भक्तपुरमा नक्कली सुन देखाइ ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ घर भई भक्तपुरको बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिनबहादुर लामा, बाह्रबिसे-५ घर भई काठमाण्डौको मूलपानी बस्ने ३१ वर्षीय दावा दुण्डुप तामाङ र बाह्रबिसे-८ का ४८ वर्षीय जितबहादुर तामाङ रहेका छन् । उनीहरूको साथबाट दुई लाख ९६ हजार पाँच सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले रामेछापको दोरम्बा गाउँपालिका-४ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बस्ने २४ वर्षीया विनिता थापा मगरलाई फोन गरी एक केजी सुन छ लगानी गर्नुपर्यो, बेचेर भागबन्डा गरौँला भनी प्रलोभनमा पारेर दुई पटक गरी सात लाख ७५ हजार रुपैयाँ ठगेका प्रहरीले जनाएको छ । पैसा लिएपछि फरार रहेका उनीहरू शुक्रबार र शनिबार बोडेबाट पक्राउ परेका थिए ।