काठमाडौं, फागुन १ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । आफ्नो अभियानको वार्षिकोत्सव समारोहको अवसर पारेर आज भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो ।
प्रशासनले टुँडीखेलमा कार्यक्रम गर्न ठाउँ उपलब्ध नगराएपछि भृकुटीमण्डपमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा सबै राजनीतिक दलका नेता तथा स्वतन्त्र व्यक्तित्वहरूलाई पनि बोलाइएको छ । कार्यक्रमका लागि देशभरबाट मानिसहरु सहभागी हुने दाबी अभियानले गरेको छ ।
प्रसाईंको वार्षिकोत्सव कार्यक्रमका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि निम्तो पठाइएको छ ।
अभियानको वार्षिकोत्सवका अवसरमा उक्त अभियानले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्ने भन्दै निम्तो दिएको भए पनि पूर्वराजा शाह त्यसमा सहभागी नहुने भएका छन् । उनी आइतबार नै एक साताका लागि चितवन गएको बताइएको छ ।