Kath khabar
काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

 

               काठमाडौं, फागुन १ । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ ।

महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा आज अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो ।

‘अरुलाई नमूना भएर देखाउनु पर्ने अस्पतालहरु आफैँले कमजोरी गरेको देखियो । अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो । यो गलत प्रक्रिया हो ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादन स्थल बन्नु हुँदैन । यसलाई व्यवस्थापन गर्ने दायित्व महानगरपालिका एक्लैको होइन, अस्पतालहरुले आफूलाई स्वच्छ र स्वस्थ्य सेवा प्रवाह भएको प्रमाणित गराउनु पर्छ ।’

‘फरक प्रकृतिको फोहोर राख्न रङ्ग संकेतको पालना भएको पाइएन । यसबाट हानीकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनु पर्ने अवस्था आएको हो ।’ वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्नुहुन्छ, ‘स्रोतमा फोहोर छुट्टिएको, हानीकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको एकिन नहुञ्जेल फोहोर उठाउँदैनौँ ।’

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update