Kath khabar
कुवेतलाई हराउँदै एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल

 

                  काठमाडौंं, फागुन २ । नेपाली महिला टोली मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वाटरफाइनल खेलमा कुवेतलाई नेपालले ८ विकेटले हराएको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको कुवेतको टोलीमाथि नेपाली बलर हाबी हुँदै निर्धारित २० ओभरमा नौ विकेट लिएर ७३ रनको रोक्न सफल भएको थियो।

नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक २२ रन बनाइन् । उनले २१ बलमा एक चौकाको साहयताले अविजित २२ रन बनाएकी हुन् । त्यस्तै सीता रानामगरले १७ रन जोडिन् भने कविता जोशीले अविजित ४ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारयाम ओमरले एक विकेट लिइन् ।

कुवेतका लागि प्रियादाले नै सबैभन्दा धेरै रन प्रहार गरेकी थिइन् । यस्तौ शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३-१३ रन बनाउन सफल भए ।कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई/दुई विकेट लिए ।

नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । नेपालले समुह चरणको खेलमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् । नेपालले अब सेमिफाइनलमा घरेलु टोली मलेसियाको सामना गर्नेछ ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update