काठमाडौं, फागुन ३ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नेपालले जितका लागि नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । कमजोर सुरुवात गरेको नेपाललाई मध्यक्रममा भीम सार्कीको ब्याटिङले उकासेको थियो । २१ रनमा शीर्ष ४ ब्याटरको साथ गुमाएपछि नेपाल दबाबमा परेको थियो ।
नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले १६ रन बनाए । २१-४ को नाजुक स्थितिबाट भीमले पाँचौँ विकेटका लागि कुशल मल्लसँग ४६ रनको साझेदारी गर्दै नेपाली टिमको इनिङ सम्हालेका थिए । कुशलले २२ बलमा एक चौका र एक छक्कासहित १५ रन थपे । ओपनर आसिफ शेख ४ रनमा आउट भए । सोमपाली कामीले २ रन बनाए ।
३२ औं ओभरमा गुलशनलाई एरास्मसले बोल्ड गरे । उनले ३१ बलमा २१ रन बनाए । ३६ औं ओभरमा पवन सर्राफ १२ रन जोड्दै क्याच आउट भए ।