Kath khabar
नेपाल चिया विकास निगम लि. अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित


                    काठमाडौं, फागुन ३ । नेपाल चिया विकास निगम लि. अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ ।

'आठौं एशिया टी कम्पिटिसन २०२३' को चिया गुणस्तरमा गोल्ड विजेता, नेपाल चिया विकास निगम लि.को कन्याम चिया बगान अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भएको हो ।

गत माघ २६ र २७ गते नेपाल चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन तथा भरतपुर महानगरपालिकाको सह-आयोजनामा नारायणी नदीको किनारमा नेपालमा उत्पादित चियाहरुको वृहत प्रदर्शनी तथा टी टेस्टिङ्ग कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष श्री सुभाष चन्द्र संघईलाई कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुषालले सम्मानित गर्नु भएको थियो ।

मेलामा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाको सहभागिता तथा विभिन्न चिया उत्पादक कम्पनीहरूले आफ्नो उत्पादनको प्रदर्शनी एवं टेष्टिङ्ग कार्यक्रम गरेका थिए  । प्रत्येक वर्ष चीनमा विश्वभरिका १७ चिया उत्पादन गर्ने देशहरुबीच हुने यस प्रतियोगितामा नेपालको तर्फबाट नेपाल चिया विकास निगम लि. ले सहभागिता जनाएको थियो ।

निगमले झापा र इलाममा रहेको आफ्नै ७ वटा चिया बगानहरुबाट उत्पादित चिया नेपालीहरु माझ निकै नै लोकप्रिय तथा अन्तराष्ट्रिय स्तर मै चिर–परिचित टोकला चियाको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

कम्पनीको अनुसार यस पुरस्कारले नेपाली चियालाई अन्तराष्ट्रिय बजारमा थप चिनाउन र प्रवर्द्धन गर्न निकै ठूलो टेवा दिनेछ ।

 

 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update