काठमाडौं, फागुन ८ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ । यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।
आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली र केही स्थानमा छिटफुटदेखि हल्का तथा मध्यम वर्षा सुरु भएको छ। काठमाडौँ उपत्यकामा बादल लागेको छ । बिहीबार भने काठमाडौंमा वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ ।
“यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ”, विभागले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ।
फाल्गुन ०९ गते बुधबार
दिउँसो : देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम ,कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
फाल्गुन १० गते बिहीबार
दिउँसो: देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती कोशी, मधेश, बागमती, गण्डकी, लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।