Kath khabar
वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी
तस्विर : सामाजिक सञ्जाल

 

                        वीरगन्ज, फागुन ८ । वीरगन्जमा धार्मिक समुहको विवादका कारण दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि सोमबार साँझदेखि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै सोमबार साँझदेखि अनिश्चिकालीन निषेधाज्ञा जारी गरेको हो । कर्फ्यु आज बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुला गरिएको थियो ।

रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा सोमबार हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सिर्जना भएको थियो ।

पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । निषेधाज्ञा जारी गरेको ठाउँमा हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेलालगायत उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो ।

यसैबीच वीरगन्ज महानगरपालिकाभित्र सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ५ बजेपछि महानगरपालिकाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको पर्साका प्रहरी नायब उपरीक्षक एवं निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले बताउनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी झण्डै एक हजार प्रहरी जिल्लाका विभिन्न स्थानमा खटाइएको निमित्त प्रमुख थापाको भनाइ छ । महानगरको माईस्थान चोक, आदर्शनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार एरियालगायत मुख्य चोक तथा गल्लीमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update