काठमाडौं, फागुन ११ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेश लगायत देशको पहाडी भुभागमा आंशिक बदली रहि बाकी भुभागमा मौसम मुख्यतया सफा रहेको छ । काठमाडौँमा बिहानैदेखि पारिलो घाम लागेको छ । बिहीबार साँझ हल्का वर्षा भएकाले काठमाडौँसहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा भएको छ । आजदेखि मौसम क्रमिकरूपमा सुधार हुने महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । बिहीबार काठमाडौँमा तीन दशमलव छ मिलीमिटर वर्षा भएको छ । पोखरामा सात दशमलव पाँच, घोराहीमा पाँच दशमलव आठ, दिपायल र डडेलधुरामा समान तीन मिलीमिटर वर्षा भएको छ ।
यस्तै शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।