Kath khabar
आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द नहुने


                         भरतपुर, फागुन १३ । दैनिक दिउँसो चार घण्टा बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू गरिएपछि दिउँसो चार घण्टा दैनिक बन्द गरिएको सडक अब काम सकिएकाले बाटो बन्द नगर्ने निर्णय भएको हो ।

“अब पहाड काट्न एक/दुई मिटर जति मात्र बाँकी होला । त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन”, नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले भन्नुभयो । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो ।

साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो ।

तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिनुभयो । यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो ।

अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन् । छ पुलमा गाडी गुड्ने चरणमा आइपुगेको उहाँले भन्नुभयो । कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उहाँले बताउनुभयो । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो ।

पुलको लागत रु एक अर्ब २८ करोड छ । सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन् ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update