काठमाडौँ, १३ फागुन : विसं १९४७ मा स्थापना भएको वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो । सुरुमा पाँच कर्मचारीसहित सात शय्याबाट सुरु भएको यस अस्पतालले देशको आवश्यकताअनुसार बिरामीलाई स्वास्थ्य उपचार सेवासँगै विभिन्न तहका स्वास्थ्यकर्मीलाई चिकित्सा शिक्षा प्रदान गर्दै आएको छ ।
चिकित्सा शिक्षाको अभाव पूरा गर्ने उद्देश्यले २०५९ सालमा बनेको अवधारणाका आधारमा ल्याइएको अध्यादेशबाट २०६० चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) न्याम्सको स्थापना भएको थियो । २०६३ सालमा न्याम्सको अलग्गै ऐन बनेपछि यसको सञ्चालन हुँदै आएको छ । त्यो हिसाबले स्थापना र सञ्चालनमा आएको २० पूरा भएको छ ।
यस बीचमा सरकारी चिकित्सकलाई तालिम प्रदान गर्ने र दुर्गम क्षेत्रका सरकारी स्वास्थ्य संस्थासम्म पुगेर विशेषज्ञ सेवा उपलब्ध गराउन यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रस्तुत छ, वीर अस्पतालका पूर्वनिर्देशक एवं राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को उपकुलपति प्राडा भूपेन्द्र बस्नेतसँग भएको कुराकानीको सम्पादित अंशः
तपाईले न्याम्सको नेतृत्व लिएपछि यसको गतिविधिलाई कसरी हेर्नु भएको छ ?
जतिबेला न्याम्स सुरु भयो त्यस समयमा म वीर अस्पतालमा मेडिकल अधिकृतको रुपमा कार्यरत थिएँ । त्यो समय नेपालले चिकित्सा शिक्षाले यति फड्को मारिसकेको अवस्था थिएन । यी २० वर्षमा हामीले धेरै काम गर्न सफल भएका छौँ ।
त्यस समयमा नेपालमा स्नातकोत्तर गर्ने खास गरी ब्याचलर अफ मेडिसिन र ब्याचलर अफ सर्जरी (एमबीबीएस)पछि डक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी (एमडीएमएस) गर्ने अवसर नेपालमा एकदमै कम थियो । त्यसमा पनि स्वास्थ्य मन्त्रालयसँग धेरै कम एमडीएमएस गरेका चिकित्सक थिए । यतिसम्म कि जिल्ला अस्पताल त के अञ्चल अस्पतालमै पनि चिकित्सक पुग्न सकेको थिएन । अञ्चल अस्पतालमा चिकित्सक पुगे पनि सबै प्रकारका विशेषज्ञको अभाव थियो ।
त्यो सबै अवस्थालाई मध्यनजर गर्दै देशभित्र सरकारले आफैँ एमडी पढाउने, तालिम दिने र नेपाल सरकारका सबै अस्पतालमा चिकित्सक उपलब्ध गराउनुपर्छ भन्ने अवधारणामा उक्त समयको स्वास्थ्य मन्त्रालयको नेतृत्वले न्याम्सको गठन गरेको हो । यो गठन यसरी आयो कि सरकारी चिकित्सकलाई मात्र पढ्न दिइन्थ्यो, त्यसपछि बाँकी रहेको मात्र खुल्ला प्रतिस्पर्धालाई दिइन्थ्यो । पछिल्लो समयमा चिकित्सा शिक्षा आयोग आइसकेपछि त्यो परिदृश्य केही परिवर्तन भएको हो । त्यसबीच एमडीएमएस गरेका यति धेरै चिकित्सकहरु उत्पादन भए कि आज नेपाल सरकारका अधिकतम् अस्पताल एवं स्वास्थ्य संस्थाको नेतृत्व एवं विशेषज्ञ सेवा उनीहरुबाटै भएको छ । यो न्याम्सको लागि सुखद् पक्ष हो ।
चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादनमा न्याम्सको भूमिकालाई कसरी हेर्नु भएको छ ?
आजसम्मको स्थिति हेर्ने हो भने न्याम्सले नेपालमा एमडीएमएस सबैभन्दा धेरै उत्पादन गरेको छ । झण्डै १५ सय एमडीएमस चिकित्सक उत्पादन भइसकेका छन् भने विभिन्न विधाका चिकित्सक, नर्सिङ र पारामेडिक्स गरी झण्डै तीन हजार जनशक्ति उत्पादन गरिसकेको छ । यही जनशक्तिका कारण धेरै सरकारी र निजी स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा उपलब्ध गराउन सहज भएको छ । यसको स्थापना गर्दा नै स्वास्थ्य उपचार सेवा, अध्यापन र अनुसन्धान गर्ने रहेको थियो ।
न्याम्स र वीरलाई छुट्याउने, न्याम्सले छुट्टै अस्पताल स्थापना गर्ने विषयप्रति तपाईको बुझाई के हो ?
अहिले छुट्याउने र जोडने कुराहरु आइरहेको छ । म भन्छु, छुट्याउन हुँदैन । न्याम्सको योगदान महत्वपूर्ण छ । सबै सरकारी स्वास्थ्य संस्थामा चिकित्सक पु¥याउने, तालिम दिने राम्रो काम भएको छ । यदि आफ्नो अस्पताल नै नहुने हो भने त तालिमको नै वैधानिकता हुँदैन, मान्यता हुँदैन नि । स्वास्थ्य प्रतिष्ठानलाई पढाउनको लागि आफ्नै एउटा अस्पताल चाहिन्छ । न्याम्सले वीर अस्पतालबाहेक पनि थुप्रै ठाउँमा पढाई र तालिमको कार्यक्रम गर्छ । जस्तैः बालबालिकाको लागि कान्ति बाल अस्पताल, आँखाको लागि नेपाल आँखा अस्पताल, तिलगङ्गा, विराटनगर, भैरहवालगायत, प्रसुतिका लागि परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल र अन्य अस्पतालको वीर अस्पतालमा गरेको छ ।
अहिलेको चिकित्सा शिक्षा ऐनकै कुरा गर्ने हो भने नर्सिङ पढाउनका लागि एक सय शैय्यासम्मको अस्पताल चाहिन्छ । एमबिबिएस कार्यक्रमका लागि तीन सय शैय्या न्यूनतम् रुपमा सञ्चालनमा हुनुपर्छ । त्यसैले एमडीएमएस गर्न प¥यो भने पक्कै पनि आफ्नै एउटा अस्पताल चाहिन्छ । त्यो आफनो अस्पताल भनेको ऐनले निर्दिष्ट गरेको न्याम्सको वीर अस्पताल हो । आफनो एउटा अस्पताल भएपछि अन्य कार्यक्रम जहाँ पनि चलाउन पाइन्छ । त्यसैले ऐन आउँदै खेरी वीर अस्पताल, न्याम्सको आङ्गिक अस्पताल भएर आएको हो । यदि न्याम्सको आफ्नै अस्पताल भएन भने कार्यक्रमहरु चलाउन पाइँदैन, यहाँबाट हुने अध्ययनको यसको वैधता र मान्यतामा प्रश्न उठ्छ ।
यसको अर्का पाटो, वीर अस्पताल सरकारको केन्द्रीय अस्पताल पनि हो । नेपाल सरकारका चिकित्सक जो स्वास्थ्य सेवामा हुनुहुन्छ उहाँहरु जिल्ला, अञ्चल, क्षेत्रीय अस्पताल हँुदै यो अस्पतालसम्म आउने बाटो पनि त खुल्ला हुनुपर्छ नि । त्यसैले अहिले पनि त्यो छ । केही कर्मचारी न्याम्सको हुनुहुन्छ, तर धेरै जना स्वास्थ्य सेवाबाट विभिन्न ठाउँबाट सरुवा भएर यहाँ आउनुहुन्छ । यो आउनै नपाउने गरी बन्द गर्ने किसिमले गर्नु हुँदैन ।
न्याम्सको आफनै छुट्टै अस्पताल निर्माणको कुरा चाहिँ के भैरहेको छ ?
हो, त्यसकै लागि भक्तपुरको दुवाकोटमा अहिले जग्गा प्राप्ति भएको छ । त्यहाँ केन्द्रीय अस्पताल बनाएर स¥यो भने, न्याम्सको आंगिक अस्पताल बन्यो भने वीर अस्पताल तालिम साइट मात्र पनि हुन सक्छ । तर आजकै दिनमा न्याम्सबाट वीर अस्पताल छुट्याउँदा डिग्रीकै मान्यता र वैधानिकतामा प्रभाव पर्छ, विद्यार्थीको भविष्यमा समेत असर पर्ने सक्छ । ऐनले यही कुरा नै भनेको छ । दुवाकोटमा अस्पताल बनाउने हाम्रो पहिलो प्राथमिकतामा छ । यो ठूलो योजना भएका कारण सरकारले तत्काल काम सुरु गर्न नसक्ने हो कि भनेर हामीले त्यसलाई तीन चरणमा बाँडेका छौँ । त्यहाँ १५ सयको शैय्या बनाउने योजना छ, हामीलाई एकैदिनमा १५ सय शैय्या चाहिदैन । प्रथम चरणमा पाँच सय शैय्या, दोस्रोमा पाँच सय र तेस्रोमा पाँच सय गरी जम्मा १५ सय शैय्या बनाउने सोचेका छौँ । पहिलो चरणको पाँच सय शैय्याको मेडिकल कलेज तत्काल बनाउन भनेर यो वर्षको बजेटमा राख्नुपर्छ भनेका छौँ ।
अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले समेत चिकित्सा शिक्षा र स्वास्थ्यबारे निरन्तर चासो व्यक्त गर्नुभएको छ । मन्त्रालयको भिजनअनुसार एक शय शैय्यासम्म नर्सिङ र प्यारामेडिक्स पढाउने, तीन सय शैय्यामाथि एमबिबिएस पढाउने कुरालाई न्याम्सले ग्रहण गरिसकेका छौँ । आगामी शैक्षिक सत्रमा, ठीक एक वर्षपछि न्याम्सले पनि एमबिबिएस कार्यक्रम सुरु गर्छौं । त्यसका लागि आउने आर्थिक वर्षदेखि दुवाकोटमा भवन निर्माणको लागि काम गरिरहेका छौँ ।
एमबिबिएससँगै त्यहाँ हाम्रो क्षमताअनुसार अन्य शैक्षिक कार्यक्रम विस्तार गर्दै जाने हो । यसबाट कम खर्चमा नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार सेवा दुवै प्राप्त गर्न सक्छन् । जुन स्वास्थ्यकर्मीले आजको नवीन प्रविधि पढेको हुन्छ, उसले राम्रो सेवा दिन सक्छ । त्यो पढ्ने कुरा हाम्रो जस्तो शैक्षिक संस्थामा हुन्छ । त्यसैले सबै सरकारी अस्पताल शैक्षिक संस्थाको रुपमा विकास हुनुपर्छ, सबैले दिनहुँ पढ्न र बिरामीको गुणस्तरीय उपचार होस्, हाम्रो उद्देश्य नै त्यही हो ।
अहिले देशभित्रै नर्सिङ अध्ययन गर्न नपाएर नेपाली विद्यार्थीहरु भारतलगायत अन्य मुलुकमा जानुपर्ने बाध्यता कसरी भयो ? चिकित्सा शिक्षा ऐनमा देखिएको समस्या हो वा अन्य कुनै कारण पनि हुन सक्छ ?
अहिले नर्सिङ अध्ययनका लागि समस्या देखिएको छ । ऐनगत समस्या भएका कारण नै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोग, मन्त्रालय र सरकार नै लागिपरेको छ । न्याम्समा पिसिएल नर्सिङ पढाइ हुन्थ्यो आजको दिनमा बन्द भयो । हामीसँग नर्सिङ कलेज छ, शिक्षक छन् र एक हजार शैय्याको अस्पताल छ । हामी धेरै नर्सिङ पढाउन सक्छाँै, यस्ता कार्यक्रम हाम्रो बन्द भयो, ऐनका कारण । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पतालको पनि बन्द भयो । सबै स्वास्थ्य प्रतिष्ठानले पढाउन पाउँछन्, न्याम्सले मात्र आज पढाउन पाउने हो भने हामी पाँच सय जना पिसिएल नर्स उत्पादन गर्न सक्छाँै । पाँच ठाउँमा हामीले नर्सिङ पढाउन सक्छौँ । कान्ति, प्रसुति, सिभिल, भरतपुर र वीर अस्पतालबाट दुई सय ५० पिसिएल नर्स वार्षिक उत्पादन गर्न सक्छौँ । ऐनलाई संशोधन गर्ने बितिकै नेपाल सरकारका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट नर्सिङ जनशक्ति उत्पादन गर्न सकिन्छ ।
आधारभूत स्वास्थ्य उपचारको प्रत्याभूति संविधानले नै गरेको छ तर नागरिकहरु सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भैनैरहेका छन, किन होला ?
अहिलेको संविधानले स्वास्थ्यको जिम्मेवारी तीन तहको सरकारमा बाँडेको छ । यी सरकारहरुबीच तालमेल नमिलको जस्तो लाग्छ । थुप्रै अधिकार स्थानीय तहलाई गएको छ । तर अधिकारसँगै अरु कुरा भएका छन त ? अर्कातर्फ केन्द्रिकृत मानसिकतामा काम गर्दै आएकाले सङ्घीयताअनुसार काम गर्न नसक्दा पनि धेरै जटिलता देखिएको हुन सक्छ । कार्यान्वयनलाई निर्खार्दै जाने हो । कोही चिकित्सक दुर्गममा गएन भन्नुहुन्छ । चिकित्सक एउटा व्यक्ति हो, उसँग ज्ञान हुन्छ । त्यो ज्ञानको प्रयोग गर्न उनलाई साधन, सहयोगी सेवा र समूहको आवश्यकता पर्छ । दुर्गमकै उदाहारण दिंदा पनि, त्यहाँ चिकित्सक मात्र पुगेर हुँदैन । त्यहाँ पूर्वाधार, उपकरण र पूर्ण समूह अनिर्वाय हुनुपर्छ ।
स्वास्थ्य जनशक्ति विदेसिने क्रम बढ्दो छ । यसलाई अवसरको खोजीमा जाने बढे भन्ने कि स्वास्थ्यकर्मी टिकाउने वातावरण नबनेको हो भन्ने ?
हो, चिकित्सकहरुको विदेश पलायन बढ्दो छ । तर हाम्रो उत्पादन पनि बढिरहेको छ । हिजो उत्पादन कम थियो विदेश पलायन पनि कम थियो । आज उत्पादन बढी छ, विदेसिने पनि बढी छन् । यद्यपि हामीले केही ‘क्रिम’ जनशक्तिलाई रोकेर राख्ने वातावरण आवश्यक छ ।
वीर अस्पतालमा अझै पनि सहज र समयमै उपचार सेवा पाउन नसकिरहेको बिरामीहरुको गुनासो छ । सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास खस्केको हो ?
वीर अस्पताल गतिशील छ । सेवाग्राहीको विश्वास बढेको छ, सेवा विस्तार भएको छ र स्वयं अस्पतालको आम्दानी बढेको छ । म २०७३ सालदेखि २०७५ सालसम्म निर्देशकको जिम्मेवारीमा रहेँ । त्यसबेला चिसोयाममा सातदेखि आठ सय बिरामी हुन्थ्यो । अहिले चिसोयाममा मात्र पनि २२ सय बिरामीको सङ्ख्या छ । त्यस समयमा गर्मीमा १६ सय बिरामी हुने गर्दथ्यो, अबको गर्मीयाममा चार हजारसम्म पुग्ने देखिन्छ । यी सङ्ख्याका सेवाग्राही विश्वास भएरै वीर
एक दिनमा हामीले ४० वटा शल्यक्रिया गरेका छौँ । हाम्रो क्षमता एक सय वटासम्म शल्यक्रियाको छ । नर्सलगायत जनशक्ति जस्ता केही समस्याका कारण अप्ठ्यारो छ । हाम्रो क्षमताअनुसार सेवा दिन छोडेका छैनौँ । वीर अस्पतालबारे नकरात्मक कुरा फैलाएर बिरामी निजी अस्पतालमा लग्ने केही समूहको खेती पनि छ । यस्ता समूहलाई कारबाही पनि गरेका छाैँ । तर अधिकांश कर्मचारीले राम्रो काम गर्नुभएको छ । दुई÷चार वटा कर्मचारीका कारण सम्पूर्णको बारे गलत प्रचार गर्नु हुँदैन ।
अहिलेको स्वास्थ्य मन्त्रीले शैय्या बढाउनुभयो । भिआइपीको चाप बढेको छ । धेरै सुधार भएको छ, सेवा खस्केको छैन । केही समय अघिमात्र अक्सिजन र खाना रोकियो भन्नेबारे गलत सूचना प्रवाह भयो । हामीले एक दिन पनि यी कुरा रोकेका थिएनौँ । बजेट विनियोजन हुँदा त्यो शिर्षकमा पैसा आएन । रोकियो भन्ने कुरा ५० औँ मिडियाले मिडियाबाजी गरे । हामीले विज्ञप्ति निकाल्यौँ तर कसैले समाचार लेखेनन् । यो कुरा प्रमाणसहित ल्याए म पद छोडन तयार छु । राम्रो काम गर्दा पनि विरोध धेरै भयो । अधिकांशले नकारात्मक कुरा लेख्नुहुन्छ । धेरै नकारात्मक मानसिकता भयो ।
अस्पतालबाट प्रवाह हुने सेवा सुधारका लागि विगतमा र अहिले भएका प्रयासहरु के पर्याप्त छन त ?
हाम्रो क्षमताअनुसार गरिरहेका छाँै । सुधारका लागि तयार छौँ । सुझाव दिनु हुने सबैका लागि वेबसाइटमा स्क्यान गरेर पनि सन्देश छोड्न सक्नुहुन्छ । हामी धेरै सकारात्मक सुझावको प्रतिक्षामा छाँै । सरकारी अस्पतालसँग सबै कुरा छ । जग्गा छ, भवन निर्माण भैसकेको छ, चिकित्सक छन्, बिरामीहरु सेवा लिन आउँछन् । त्यहाँ शैक्षिक प्रणाली छिराउन मात्र बाँकी हो । यहाँ बिरामीलाई लाइन बस्नुपर्ने समस्या छ, यो हाम्रो बाध्यता हो । क्षमता अभिवृद्धिमा प्रयत्नशील छौँ ।