काठमाडौं, असार १७ । बढ्दो शेयर बजारमा वाणिज्य बैंकहरुको समेत लगानीमा बृद्धि भएको छ । यो वर्षको दश महिनासम्ममा बैंक तथा वित्त संस्थाले शेयरमा ८७ प्रतिशतले लगानी बढाएको छन् ।
महामारीका कारण अन्य क्षेत्रमा लगानीका ढोका बन्द भएपछि बैंकहरुले शेयरमा लगानी बढाएका हुन् । यसअघि ब्यापार तथा व्यसायमा अधिक लगानी गर्ने बैंक तथा वित्त संस्थाहरुले पछिल्लो समय शेयरमा लगानी बढाएका छन् ।
यसैगरि रियल स्टेट कर्जा ११.४ प्रतिशतले बृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४.६ प्रतिशतले र ओभरड्राफ्ट कर्जा २७.७ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै महामारीबाट थलिएका व्यवसायीहरुले पुन व्यवसाय सञ्चालन गर्नका लागि लिने डिमान्ड तथा चालु पुँजी कर्जा २०.८ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ४६.५ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.४ प्रतिशतले घटेको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २४.८ प्रतिशतले बढेको छ ।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २४.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ८.६ प्रतिशतले बढेको छ ।
२०७८ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
२०७७ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.४ प्रतिशत र १३.२ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३८.३ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७.४ प्रतिशतले बृद्धि भएको छ।
यसैगरि यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २२.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १७.६ प्रतिशतले बढेको छ ।