Kath khabar
फुटपाथ व्यवसायी र महानगर झडपको घटनाप्रति स्वरोजगार व्यापार संघको आपत्ति

 

                     काठमाडौं, फागुन १७ । काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच बुधबार बेलुकी झडप हुँदा ११ जना घाइते भएका छन् ।

महानगर टोलीले धरहरा अगाडि बसेका फुटपाथ व्यवसायीलाई हटाउन जाँदा  झडप भएको हो । झडपमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी घाइते भएका छन् । घाइते प्रहरीहरूको वीर अस्पताल र फुटपाथ व्यवसायीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगर प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

शहरमा फूटपाथ व्यवसाय हटाएको पछिल्लो समय काठमाडौं महानगरले फूटपाथ व्यवसाय राति ९ बजेपछि गर्न दिने भन्दै आएपनि साँझ ७ बजेपछि नै फूटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधवार साँझ नगर प्रहरीले व्यवसायीलाई हटाएको थियो ।

यस घटनाप्रति आपत्ति जनाउँदै नेपाल स्वरोजगार व्यापार श्रमिक संघले एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरि घाइते बनाएको दाबी गर्दै सामान समेत लुटेर लगेको आरोप लगाएको छ ।

विज्ञप्तिमा संघले महानगरसँग पाँच बुँदे माग पनि राखेको छ। विज्ञप्तिमा महानगरपालिकाले मजदुरहरुसँग माफि माग्नुपर्ने, जफत् गरिएका सामानहरु फिर्ता गरिनुपर्ने, सन्ध्याकालिन बजारको व्यवस्था हुनुपर्ने जस्ता माग राखेका छन् ।

यस्तो छ विज्ञप्ति -

काठमाडौं महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरुहरुले आज साँझ सवा ८ बजेको समयमा काठमाण्डौंको सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरि घाइते बनाउनुका साथै, सामान समेत लुटपाट गरेर कजदुरहरुलाई नियन्त्रणमा लिएको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएकोछ

महानगर प्रहरीको आक्रमणमा परेर स्वरोजगार मजदुर नानीमैया बस्नेत गम्भिर घाइते भइ ट्रमा सेन्टरमा भर्ना हुनुभएकोछ भने अन्य मजदुरहरु राधिका मैनाली, बद्री देवकोटा घाइते हुनुभएकोछ । केही मजदुरहरुलाई नियन्त्रणमा लिइ कालिमाटी प्रहरी कार्यालयमा लगिएकोछ

साँझको समय कसैलाई असर नपार्ने गरि सडकपेटी तथा गल्लीमा व्यवसाय गरिरहेका स्वरोजगार श्रमिकहरुलाई साँझको समयमा अन्धाधुन्ध कुटपिट गर्ने, लछारपछार गर्ने, आमाचकारी गालीगलौज गर्ने, सामानहरु लुट्ने, सामानहरु फ्याकिदिने र मरणासन्न हुनेगरी घाइते बनाउने जस्ता महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा महानगर प्रहरीहरुले गरेका अमानवीय व्यवहारको भत्सर्ना गर्दछौं

सानो पूँजी लगानी गरेर फलफूल, तरकारी, जुत्ताचप्पल, कपडा लगायतका सामग्रीहरु सस्तो मूल्यमा विक्री गर्ने निम्न वर्गका स्वरोजगार मजदुरहरुलाई सत्ता र शक्तिको आडमा गरिएको गुन्डागर्दी खेदजनक छ ।

साँझको घटनाले महानगरपालिका आतङ्ककारी, अपहरणकारी र लुटेरा जस्तो देखिएकाले तत्काल सच्चिन आग्रह गर्दछौं

महानगरपालिकासंग हामी आग्रह गर्दछौं -
१. मजदुरमाथि आक्रमण गर्नेलाई कारबाही गरि माफी मागियोस्

स्वरोजगार मजदुरहरुलाई आक्रमण गरि गम्भिर घाइते बनाउने महानगर प्रहरीहरुलाई तत्काल कारबाही गर्दै मजदुरमाथि आक्रमण गर्ने, मजदुरहरुको सामान लुट्ने जस्ता आपराधिक कार्यप्रति काठमाडौं महानगरपालिकाले मजदुरहरुसंग माफि माग्नु पर्दछ ।
२. घाइते मजदुरहरुको तत्काल उपचार गरियोस्
आक्रमणमा परि घाइते हुनु भएका सम्पूर्ण श्रमिकहरुको तत्काल अवस्था बुझी तत्काल उपचारको प्रवन्ध गरियोस् ।
३. जफत् गरिएका सामानहरु फिर्ता :
महानगर प्रहरीहरुद्धारा आज तथा अन्य समयमा लुटिएका स्वरोजगार श्रमिकहरुको सामानहरु सम्बन्धीत श्रमिकहरुलाई स–सम्मान र तत्काल फिर्ता गरियोस् ।
४. सन्ध्याकालिन बजारको व्यवस्था :
महानगरभित्र सन्ध्याकालिन बजारको व्यवस्थाका लागि निश्चित समय र स्थानहरुको निर्धारण गरि व्यवसाय गर्ने वातावरणको व्यवस्था गरियोस् ।
५. कार्यदल गठन :
महानगरभीत्र “सस्तो नागरिक बजार‶को व्यवस्था गर्न, महानगरभीत्र “श्रम डेस्क‶को व्यवस्था गरि श्रमिकहरुको सूचिकरण र व्यवस्थापन लगायत तात्कालिनदिर्घकालिन संकटहरुको व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघ सहित सरोकारवालाहरु सम्मिलित कार्यदल गठन गरियोस् ।

माथि उल्लेखित विषयहरु तत्काल सम्बोधन नभए सम्पूर्ण श्रमिकहरु सडक आन्दोलनमा जान बाध्यहुने व्यहोरा अवगत गराउँदछौं

हार्दिक अभिवादन सहित ।
नेपाल स्वरोजगार व्यापार श्रमिक संघ
केन्द्रीय कमिटी, काठमाडौं

 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update