काठमाडौं, असार १८ । महामारीका कारण कैंयन कामदारहरुले रोजगारी गुमाएका छन् । बैदेशिक रोजगारीका गन्तब्यमा पनि माग खासै आएको छैन । जसका कारण धेरैको आम्दानीमा कटौति भएको छ ।
यहि समयमा उद्योगधन्दाले पनि आफ्नो आम्दानीमा कटौति भएको भन्दै श्रमिकको तलब बढाउन मानेका छैनन् । सरकारी कर्मचारी बाहेक अन्यको आम्दानी बढ्न सकेको छैन । राष्ट्र बैंकको तथ्यांकमा श्रमिकको केहि आम्दानी बढेको देखाउँछ । तर, वास्तवमा श्रमिकको आम्दानीमा बृद्धि भएको होइन । ज्यालादारी कामदारको आम्दानी केहि बढेको देखिएको हो । उनिहरुको वर्षभरीको आम्दानी बढेको होइन कि उनिहरुले दैनिक पाउने ज्यालामा मात्रै केहि बृद्धि देखिएको हो ।
महामारीका बेलामा आर्थिक गतिबिधि कम भएकाले समग्रमा उनिहरुको आम्दानीमा पनि कटौति भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ वैशाखमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो ।
बैशाख महिनामा ज्यालादर सूचकाङ्क २.४३ प्रतिशतले बढेको छ । जसले कर्मचारीको तलब तथा ज्याला बढ्न नसकेको स्पष्ट देखिन्छ । कर्मचारीको तलब तथा भत्ता खासै बढ्न नसकेका बेलामा भान्सामा प्रयोग हुने तेल तथा माछा मासुको भाउ भने अचाक्ली बढेको छ । २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा घ्यू तथा तेलमा हुने मूल्यबृद्धि २८ दशमलव २० प्रतिशतले बढेको छ । त्यस्तै मासु तथा माछाको मूल्यबृद्धि पनि १७.१२ प्रतिशतले बढेको छ । गैर-मदिराजन्य पेय पदार्थ ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थ उपसमुहको मूल्यवृद्धि ९.८४ प्रतिशतले उकालो लागेको छ ।
२०७८ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो ।अघिल्लो वर्षको तुलनामा कम मूल्यबृद्धि भएको देखिएपनि तलब बृद्धिको तुलनामा भने महंगी बढेको प्रष्ट बुझ्न सकिन्छ ।
वैशाख महिनामा मात्रै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंक बताउँछ । बैशाख महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको देखिन्छ । जबकी २०७७ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मुद्रास्फीति रहेको थियो । यसले पछिल्लो समय पहाडमा मूल्यबृद्धि उकालो लागेको देखिन्छ ।
२०७८ वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । वैशाख महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.८० प्रतिशत, ८.९८ प्रतिशत र ३.६२ प्रतिशत रहेको छ । त्यस्तै महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.४४ प्रतिशत रहेको छ ।