Kath khabar
एमाले सचिवालय बैठक : एमाले नयाँ ढङ्गले अगाडि बढ्न तयार


                      भक्तपुर, फागुन २१ । नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष निकालेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज आकस्मिक रुपमा बसेको पार्टीको सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै एमाले नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाउन तयार भए एमाले नयाँ ढङ्गले अघि बढ्न तयार रहेको बैठकले निष्कर्ष निकालेको बताउनुभयो ।
    
उहाँले भन्नुभयो, “सत्ता गठबन्धन सङ्कटमा परेको देखियो, प्रधानमन्त्री के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो, उहाँमाथि भर पर्छ । गठबन्धन टुटाउन उहाँ तयार हुनुभयो भने हामी नयाँ ढङ्गले छलफल गर्न तयार छौँ ।”
    
प्रधानमन्त्रीसँग नयाँ ढङ्गले छलफल गर्न सकिने बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यसैबीच एमाले बैठक सम्पन्न भएलगत्तै बालकोटमा एमाले अध्यक्ष ओली र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच छलफल भइरहेको छ । अध्यक्ष ओलीसँग छलफल गर्न राउत बालकोट पुग्नुभएको हो ।

अध्यक्ष ओली र राउतबीच वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी रहेको अध्यक्ष ओलीका प्रेस संयोजक रामकृष्ण बजगाईले जानकारी दिनुभयो ।
 

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update