Kath khabar
पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै


                   फुङ्लिङ, फागुन २२ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो ।

विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर  १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा राखिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । २०७६ देखि २०८० मङ्सिर १६ गते सम्ममा पाथीभरामा पाँच हजार २९८ तोला १२ लाल चाँदी सङ्लन भएको र त्यसलाई पनि बिक्री गर्ने प्रक्रिया प्रारम्भ गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रचिन हाङपाङले राससलाई बताउनुभयो ।  

कार्यकारी निर्देशक हाङपाङका अनुसार प्रतितोला सुनको मूल्य रु एक लाख २१ हजार र प्रतितोला चाँदीको मोल रु एक हजार ४१० कायम गरिएको छ । सुनचाँदी खरिद गर्न इच्छुक फर्म वा व्यक्तिलाई २१ दिनको समय दिएर बोलपत्र आह्वान गरिएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी बडादसैँ र वसन्त ऋतुमा भक्तजनको चाप बढ्ने गरेको छ ।

बडादसैँपछि चैतेदसैँमा पनि धेरै देवीभक्त यहाँ आउने गर्दछन् । भारतका साथै अन्य देशबाट पनि भक्तजन यहाँ आउने गरेका छन् । (रासस)

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update