Kath khabar
दोस्रोपटक गृह प्रशासन सम्हाल्दै रास्वपा सभापति रवि लामिछाने


                          काठमाडौं, फागुन २४ । सञ्चारकर्मीका रुपमा परिचय बनाएर राजनीतिमा होमिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पुस ११ गते उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिकामा रहनुभएका उहाँ नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट गत माघ १३ गते पदमुक्त हुनुभएको थियो ।

सर्वोच्चको आदेशसँगै उहाँको सांसद पदसमेत खारेज भएको थियो । गत वैशाखमा भएको उपनिर्वाचनमा पुनः चितवन क्षेत्र नं २ बाट ५४ हजार एक सय ७६ मत प्राप्त गरी विजयी हुनुभएका उहाँले नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पराजित गर्नुभएको थियो ।

करिब दुई वर्षअघि सक्रिय राजनीतिमा लाग्नुभएका नवनियुक्त गृहमन्त्री लामिछानेले टेलिभिजन प्रस्तोताका रुपमा काम गर्नुभएको थियो । ग्यालेक्सी टेलिभिजनमा काम गर्दागर्दै उहाँ पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गर्नुभएको थियो । त्यसलगत्तै उहाँले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुभएको थियो ।

सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर विश्व कीर्तिमान कायम गरेपछि उहाँ चर्चामा आउनुभएको थियो । कुनै बेला टेलिभिजन कलाकारितामा सक्रिय उहाँले न्युज २४ मा लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ प्रस्तुत गर्नुभएको थियो । बेथिती, विसङ्गतिविरुद्ध कडा प्रस्तुति हुने उक्त कार्यक्रम जनताले निकै रुचाएका थिए ।

दोस्रो पटक गृह प्रशासनको नेतृत्व सम्हाल्न पुग्नुभएका उपप्रधानमन्त्री लामिछानेका अगाडि प्रधानमन्त्री दाहालको निर्देशनमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीले थालनी गर्नुभएको सुधारका कार्यलाई निरन्तरता दिनुपर्ने बाध्यात्मक अवस्था छ ।

नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बुधबार पदबहाली गर्दै उहाँले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीलाई निर्देशन दिँदै भन्नुभयो, “सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस् ।”

गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न निर्देशन दिनुभयो । “नागरिकलाई दुःख दिने खालका कुुरा आफूलाई सैह्य हुँदैन, बर्दी लगाएको प्रहरी देख्दा नागरिकलाई सुरक्षा महसुस हुनुपर्छ, सोहीअनुसार काम गर्नु होला”, उहाँले भन्नुभयो ।

राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि गृह मन्त्रालय पुग्नुभएका उहाँलाई गृहसचिव दिनेशकुमार भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु आर्याललगायत उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । ---

 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update