काठमाडौं, फागुन २४ । लामो समय भूमिगत राजनीतिमार्फत परिवर्तनका लागि होमिनुभएका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ दोस्रो पटक उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीकारुपमा परराष्ट्र मन्त्रालयको नेतृत्वमा पुग्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात र उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिका रहनुभएको थियो । प्रधानमन्त्री दाहालले बुधबार गर्नुभएको मन्त्रिपरिषद् गठनमा उहाँ उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीमा नियुक्त हुनुभएको हो ।
उहाँले गत चैत १९ गतेदेखि गृह मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको थियो । त्यसअघि उहाँ २०६८ सालमा डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री बन्नुभएको थियो । हाल राष्ट्रियसभा सदस्यका रूपमा रहनुभएका उहाँको जन्म २०१७ साल कात्तिक २ गते पिता मेघनारायण र आमा ज्योतिमायाको छोराका रूपमा गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारी भएको हो ।
उहाँले विसं २०३१ सालदेखि राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । २०४२ सालमा नेकपा (चौम)को केन्द्रीय सदस्य, २०५१ सालमा नेकपा (एकता केन्द्र)का महासचिव, २०६५ सालमा नेकपा (एकीकृत माओवादी)को उपाध्यक्ष, २०६६ सालमा माओवादी संसदीय दलको उपनेताको भूमिका निर्वाह गर्नुभएको थियोे । उहाँतत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्य एवं प्रवक्ताको भूमिकामा पनि हुनुहुन्थ्यो ।
संविधानसभा सदस्यसमेत रहिसक्नुभएका नेता श्रेष्ठ राष्ट्रियसभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित हुनुभएको हो । उहाँका विभिन्न कृति र लेखहरू प्रकाशित छन् । २०३३, २०३६ र २०४२ सालमा पटकपटक उहाँले जेलजीवन बिताउनुभएको छ ।
ऐतिहासिक सिलिगुढी वार्तादेखि १२ बुँदे सहमति हुँदै जनयुद्घ र जनआन्दोलनबीचको तालमेल, जनआन्दोलनको सञ्चालन र सम्झौता, अनि शान्तिवार्ता, अनेकन महत्वपूर्ण सहमतिहरू र आन्तरिक संविधान निर्माण, संविधानसभाको चुनावदेखि आजभोलि चलिरहेको सत्ता बाँडफाँटको काममा संयोजन गर्ने कुशल संयोजकका रूपमा उहाँलाई लिइन्छ ।
तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको ६ वर्षपछाडि भारतको सिलगुढीमा वाम पार्टीको संयुक्त बैठक गराउनमा महत्वपूर्ण भूमिका खेलेपछि नेपालको राजनीतिमा उहाँको एकाएक चर्चा भएको थियो । विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन सुरु गर्न भारतको नयाँदिल्लीमा भएको नेपाली कांग्रेस सहितको तत्कालीन सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) बीचको वार्ता एवं तिनीहरूबीच भएको १२ बुँदे सहमति गराउनमा उहाँले खेलेको कुशल संयोजनकारी भूमिकाले उहाँलाई आन्दोलनकारीबीच थप चर्चामा पु¥याएको थियो ।
अठार वर्ष भूमिगत रहनुभएका नेता श्रेष्ठ २०६५ साल जेठ १५ गते एक कार्यक्रमबाट सार्वजनिक हुनुभयो । उहाँले केही समय काठमाडौँ बालाजुस्थित सिद्धार्थ वनस्थली स्कुलका शिक्षक, मूल्याङ्कन मासिकका सम्पादकका रूपमा काम गर्नुभयो । भूमिगत राजनीतिबाट सार्वजनिक भएलगत्तै मन्त्री श्रेष्ठ नेपालको राजनीतिको ‘पेरिफेरि’मा नै हुनुहुन्छ । मन्त्री श्रेष्ठले १० कक्षासम्म गाउँकै परोपकार आदर्श माविमा अध्ययन गर्नुभयो । उहाँ पढ्नमा तीक्ष्ण हुनुहुन्थ्यो । सधैँ कक्षाका प्रथम हुनुभयो । २०३२ सालमा एसएलसी गर्दा गणित विषयमा १०० नं ल्याएर स्कुलको रेकर्ड तोड्नुभएको थियो । पहिला मेडिकल कलेजमा अध्ययन गरेका उहाँले २०४० सालमा जनप्रशासन क्याम्पसबाट जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गर्नुभएको छ । उहाँले अर्थशास्त्रमा पनि स्नातक गर्नुभएको छ ।
पन्ध्र वर्षमा एसएलसी उत्तीर्ण गर्नुभएका उहाँ १६ वर्षको उमेरमा नै जेल पर्नुभएको थियो । २०३६ सालमा पञ्चायतविरुद्घ विद्यार्थी गतिविधिमा लागेको भन्दै उहाँलाई केन्द्रीय कारागाारमा राखिएको थियो । उहाँ दोस्रोपटक ०३६ सालमा पनि गोरखामा जेल पर्नुभयो । तेस्रोपटक २०४५ सालमा जनआन्दोलनको तयारीको बेलामा पक्राउ पर्नुभयो ।
मन्त्री श्रेष्ठले २०३८ सालमा गोरखा जिल्लाका कम्युनिष्ट नेता श्रीनाथ अधिकारीबाट पार्टी सदस्यता लिनुभएको हो । २०४७ सालमा मशाल, चौम र सर्वहारावादी श्रमिक सङ्गठनका बीचमा एकता गर्ने क्रममा उहाँ पार्टी एकता संयोजन समितिको सदस्य रहनुभयो । एकता भएपछि २०४८ सालमा एकता महाधिवेशनबाट उहाँ नेकपा (एकता केन्द्र)को पोलिटब्यूरो सदस्य हुनुभयो । (रासस)