Kath khabar
शनिबार बिहान पाँच बजेसम्म २० लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन

 

                     काठमाडौं, फागुन २६ । महाशिवरात्रिका अवसरमा शुक्रबार मुलुकभरका शिवालयमा भगवान् शिवको पूजाअर्चना गरी मनाइएको छ । कोषले शुक्रबार बिहान २ बजेदेखि आज बिहान पाँच बजेसम्म २० लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।

यसैक्रममा यहाँस्थित आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा शुक्रबार राति ९ बजेसम्म पाँच लाखभन्दा बढी भक्तजनले दर्शन एवं पूजाअर्चना गरेका छन् ।

बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा लागेको दर्शनार्थीको घुइँचो अहिलेसम्म पनि उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पशुपति क्षेत्रमा अहिले पनि दर्शनार्थीको भीड बाक्लो छ । दर्शनार्थी रातिदेखि नै लामबद्ध थिए ।”

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सिसी क्यामराका तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको छ । अवाञ्छित गतिविधिको निगरानीका लागि सुरक्षाकर्मी सहितको एक छुट्टै टोली परिचालन भएको विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ । उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्टाउँदै आएको छ ।

महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासलाई झकिझकाउ पारिएको थियो । मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तिले सजावट गरिएको थियो ।

(रासस)

 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update