Kath khabar
इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक आजदेखि सुरु

 

                       काठमाडौं, फागुन २९ । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । मुस्लिम संस्कृतिमा रमजानको महिना एकदमै पवित्र मानिन्छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्छन् ।

सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । शरीरलाई शुद्ध राखेर मात्र रोजा बस्नुपर्छ भन्ने मान्यता छ ।

त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन् । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतिलाई रोजा बस्न अनिवार्य गरिएको छैन । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ ।

रमजानमा व्रत बस्नका लागि मुस्लिम धर्मावलम्बीहरू सूर्योदयअघि सेहरी खान्छन्, त्यसपछि मुस्लिम धर्मावलम्बीहरू उपवास बसेर अल्लाहको उपासना गर्छन् । दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

रमदानको व्रत बसेका धर्मावलम्बिहरुले सूर्योदय देखि सूर्यास्तसम्म पानी पनि पिउँदैनन् । उक्त समयमा धूम्रपान, कुनै पनि प्रकारका औषधि सेवन र यौन क्रियाकलाप पनि बन्देज गरिएको छ। तर सूर्यास्त भएपछि भने यो नियमहरू लागु हुँदैनन् । सूर्यास्त पछि या चन्द्रोदय पछि लिइने पहिलो खानालाई इफ्तार भनिन्छ– इफ्तार भनेको व्रत भङ्ग गर्नु हो । व्रत भङ्ग गर्नका लागि पानी र खजुर खाने प्रचलन छ। त्यसपछि भने सुर्य उदय नभएसम्मका लागि खानाका लागि थुप्रै परिकारहरू बनाइएका हुन्छन् ।

चन्द्रमा हेर्ने आधारमा रमजान महिना २९ देखि ३० दिनसम्म रहन्छ । इस्लामिक मान्यता अनुसार अल्लाहले रमजान-ए-पाक महिनालाई तीन भागमा विभाजन गरेको छ, जसलाई रमजानको 'अशरा' भनिन्छ।  एक अशरा भनेको दश दिन हो । रमजानको पहिलो अशरा अर्थात् पहिलो दश दिनलाई दयाको दिन भनिन्छ । मध्य दश दिन दोस्रो अशरा हो जसलाई मगफिरातको अशरा भनिन्छ । यसपछि अन्तिम दश दिनलाई आशीर्वाद र अग्निबाट मुक्तिको अशरा भनिन्छ।

उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो । रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । रमजान महिना सकिएपछि विश्वभर हर्षोल्लासका साथ इद पर्व मनाइन्छ ।


    
 

 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update