Kath khabar
सम्यक महादान पर्व आज र भोलि ललितपुरमा हुँदै

   

                        ललितपुर, फागुन ३० । हरेक ५ वर्षमा हुँदै आएको ‘यल इतिल्हन सम्यक महादान पर्व’ आज र भोलि ललितपुरमा हुँदैछ । हिरण्यवर्ण महाविहार ‘क्वाबहाः’ ललितपुरको आयोजनामा आज र भोलि ‘यल इतिल्हन सम्यक महादान पर्व’ हुन लागेको हो  ।  

दीपङ्कर पर्वको नामबाट चिनिने यो पर्वको सुरुआत हिरण्यवर्ण महाविहार निर्माण गरेका मल्ल राजा भाष्करदेवका सन्तति भलिभारोले गरेको मानिन्छ । उपत्यकाका ३२ महाविहार (बहाःबही) का १ सय २५ देवीदेवताको दर्शन एवं पूजा गर्न पाइने यो पर्व शान्ति र उल्लासमय वातावरणका बीच मनाउन सुरक्षा योजना तयार गरिएको छ ।

सम्यक पर्वको मुख्य दिन आज बुधवार पाटनका १८ वटा प्रमुख बहाः, बही, चापागाउँ, बुङ्गमति, कीर्तिपुर, काठमाडौँ, ललितपुर र भक्तपुरका महाविहारबाट ल्याइएका दीपङ्कर बुद्ध, आर्यतारा र अन्य देवतालाई साँझ ७ बजेदेखि पाटन दरबारक्षेत्रमा भेला गराइनेछ ।

ज्येष्ठवर्ण महाविहार तंगःबहालबाट ल्याइएको वसुन्धरा देवीलाई यस भेलामा सामेल गराइएपछि यहाँबाट सबै देवगणलाई नागबहाल लगिनेछ । यहाँ ती देवगणलाई सूचीअनुसार राति अबेरसम्म ठाउँ तोकेर विराजमान गराइनेछ ।

भोलि चैत १ गते सम्यक महादान हुनेछ जुन बिहान ४ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धालु भक्तजनलाई दीपङ्कर बुद्ध र अन्य देवदेवीहरुको पूजाअर्चना र दर्शन गर्न दिइनेछ । त्यसपछि भूमिशोधन पूजा र दानका कार्यक्रम हुनेछन् ।

विसं १८६१ सम्म हरेक वर्ष हुँदै आएको यो पर्व राजा रणबहादुर शाहका शासनकालदेखि हुँदै आएको छ ।

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update