यूरोप, असार १९ । युरो २०२० मा स्पेन सेमिफाइनलमा पुग्ने पहिलो टिम भएको छ । शुक्रबार राती सृेन्टपिर्टसबर्गमा भएको खेलमा स्पेन र स्वीट्जरल्याण्डबीचको खेल निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । आठौं मिनेटमा जोडी अल्बाले गरेको प्रहार डेनिस जाकरियालाई लागेर गोल भएको थियो । पहिलो हाफसम्म बनाएको अग्रतालाई दोस्रो हाफमा स्वीस टोलीले बराबरीमा ल्यायो । स्पेन २७ औं मिनेटमा काउन्टर एट्याक गर्दा गोल गर्नबाट चुकेको थियो ।
३३ औं मिनेटमा स्वीसका रिकार्डो रोड्रिगेजले स्पेनका सम्भावित खतरा टारेका थिए । पहिलो हाफमा स्वीस टोलीले काउण्टरमा पाएको केही अवसरुलाई सदुपयोग गर्न सकेन । ६८ औं मिनेटमा जाद्रान साकिरिले गोल गरि खेललाई बराबरीमा ल्याउनुभयो । ७७ औं मिनेटमा स्वीट्जरल्याण्ड १० खेलाडीमा झरेको थियो । रुमो फ्रुलरले जेरार्ड मोरेनोमाथि फाउल गरेपछि रेफ्रीले सोझै रातो कार्ड दिनुभएको थियो । अतिरिक्त समयमा पुरै हाबी भएको स्पेनले गोल भने गर्न सकेन ।
त्यसपछि पेनाल्टी सुटआउटमा खेल धकेलिएको थियो । लुइस इन्रिकेको टिम स्पेनका कप्तान सर्जियो बुस्केट गर्नुभएको प्रहार साइडबारमा लागेर फर्कियो । यता स्वीट्जरल्याण्डका मारियो गार्भानोभीचले पहिलो गर्नुभयो । स्पेनका डेनि ओल्मोको प्रहार गोलमा परिणत भएको थियो । स्वीट्जरल्याण्डका फावियन सेजरको प्रहार खेर गयो भने स्पेनका रोड्रिगो हर्नान्डेजको प्रहारले पनि पोष्ट दिशा लिन नसक्दा खेल रोमाञ्चक बनेको थियो । स्पेनका जेराड मोरोनो र मिकेलले गोल थप्नु भयो तर स्वीट्जरल्याण्डका मेनुयल अकान्जी र रुवेन भर्गासको प्रहार बिफल भएपछि स्पेनले बाजी मारेको हो ।
यता इटालीले पनि विश्व नम्बर एक टिम बेल्जियमलाई दुई एकले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा इटालीले ३१ ओँ मिनेटमा अग्रता बनाएको थियो । उसका लागि मार्को भेराटीले दिनुभएको पासमा निकोला बरेलाले गोल गर्नुभएको हो । बरेलाको सहयोगमा लोरेन्ज इनसिग्नेले ४४ औं मिनेटमा गोल गर्नु भई इटालीको अग्रता दोब्बर बनाउनु भयो । पहिलो हाफमै पाएको पेनाल्टीमा रोमेलु लुकाकुले एक गोल फर्काउनु भएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन र इटालीले अन्तिम चारको यात्रा तय गर्यो ।
अब उसले फाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । इटाली ३२ खेल यता अपराजित छ । आज डेनमार्क र चेक रिपब्लिक तथा इंग्ल्याण्ड र युक्रेन सेमीफाइनल प्रवेशका लागि भिड्नेछन् । डेनमार्क र चेकबिचको खेल नेपाली समयअनुसार रातीको पौने १० बजे अजरबैजानको बाकुमा हुनेछ भने इंग्ल्याण्ड र युक्रेन बिचको खेल इटालीको रोममा रातीको पौने एक बजे हुनेछ ।