काठमाडौं, चैत १ । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ । उच्च सरकारी वकिल कार्यालय पाटनका तर्फबाट उच्च अदालत पाटनमा बिहीबार पुनरावेदन गरिएको हो ।
बलात्कारको मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले आफ्नो माग दाबीभन्दा कम सजाय तोकेको भन्दै उच्च सरकारी वकिल कार्यालयले अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको हो ।
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी गत पुस २५ गते आठ वर्ष कैद, तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । बालिग ठहर भएर पनि आफूमाथि सजाय भएको भन्दै काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीपले पनि यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् ।