Kath khabar
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन


                    काठमाडौं, चैत २ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउनुभएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाउनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ ।

उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिनुभयो ।
 
प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिनुभएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उहाँले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गर्नुभएको छ ।
 
प्रधानमन्त्री दाहालको निर्देशनसँग उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थाल्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
 

 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update