काठमाडौं, चैत २ । सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि देखिएपछि सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का वर्तमान प्रमुख किरण बज्राचार्यलाई हटाउने तयारी गरेको छ ।
सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो ।
आयोगले ब्रेक शुमार्फत् भित्रिएको ६० किलो सुन र भेपमार्फत् भित्रिएको ९ किलो सुन सम्बन्धी अनुसन्धान तथा अध्ययन गरेको थियो । गृह मन्त्रालयले अब आगामी मन्त्रिपरिषद् बैठकमा उनलाई ब्यूरोबाट हटाउने प्रस्ताव पेस गर्ने तयारी गरेको छ । बज्राचार्य एक वर्षभन्दा बढी समयदेखि सीआईबीको प्रमुखको पदमा रहेका छन् ।
प्रहरीकै पूर्वउच्च अधिकारीका साथै राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले देखाएको गृह मन्त्रालय स्रोतले जनाएको छ । आयोगको सिफारिससँगै बज्राचार्यमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढ्ने बताइएको छ । आयोगले बज्राचार्यसँगै प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, प्रहरी नायब उपरीक्षक रुगम कुँवर र दुर्गा दाहाललाई सम्भावित अनुशासनात्मक कारबाहीका लागि सिफारिस गरेको हो ।
आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाउँदै उनीहरुलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । गृहमन्त्रीले यो प्रतिवेदन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष बुझाएपछि प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो ।