टक्सार (भोजपुर), चैत ४ । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो ।
रङ्गेलीमा आगलागी हुँदा १९ घर जले, २५ परिवार विस्थापित
बेलबारी (मोरङ), रङ्गेली-३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।
शनिबार दिउँसो २ः३० बजेतिर सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागााईँले जानकारी दिनुभयो । बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको उहाँको भनाइ छ ।
उन्नाइस घरधुरीका २५ परिवार आगलागीबाट विस्थापित भएको रङ्गेली नगरपालिका उपप्रमुख गोमा पराजुलीले बताउनुभयो । विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन थालिसकेको उपप्रमुख पराजुलीले बताउनुभयो ।
कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरका बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टापछि आगो निभाउने काम भएको छ । घटनाबाट भएको क्षतिको विवरण भने आइ नसकेको उपप्रमुख पराजुलीले बताउनुभयो । (रासस)