Kath khabar
वसन्तपुरमा चीर ठड्याइएसँगै सुरु भयो होली

 

                  काठमाडौं, चैत ४ । काठमाडौंको वसन्तपुर अगाडि विधिवत् रूपमा आज बिहान चीर ठड्याइएको छ । 

फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो ।  

फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।  रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ ।

वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्व रहेको छ वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा र्पुयाई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै बसन्त ऋतु प्रारम्भ हुने बताइन्छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update