Kath khabar
'मेड इन नेपाल' नारा सहित चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४


                     ललितपुर, चैत ४ । मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ ।

ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक पक्षले जनाएको छ ।

ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, चाइनालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ  ।

ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्सको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ ।

पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छन् । मेलाको सहयोगी संस्थाका रुपमा लक्ष्मी सनराइज बैंक र नेपाल हस्तकला महासंघ रहेका छन् । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको ललितपुर चेम्बर अफ कमर्सकाअध्यक्ष पुष्परत्न शाक्यले बताउनुभयो ।

सार्क मुलुकमा निर्मित सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको भन्दै अध्यक्ष शाक्यले मेलामार्फत सहभागी देशहरुको उत्पादनको प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा शाक्यले गर्नुभयो ।यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीलाई सामिप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको इन्ट्रोडक्सन ट्रेड शोका मेनेजिङ डाइरेक्टर सुमन महर्जनले बताउनुभयो ।

मेलाको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमका साथै जावलाखेल फुटबल ग्राउन्ड परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिनुभयो ।

मेलामा व्यापार प्रवद्र्घनका लागि अझै पनि केही स्टल बाँकी रहेको भन्दै आयोजक पक्षले नेपाल, भारत, पाकिस्तान र बंगलादेशको कुम्भ मेलामा आफ्नो ब्राण्ड प्रवर्द्धन गर्न र व्यापार गर्न चाहने फर्म तथा कम्पनीलाई पनि आव्हान गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update