काठमाडौं, चैत ४ । सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।
आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख श्याम ज्ञवालीसँगको छलफलपछि गृहमन्त्री लामिछानेले उक्त निर्देशन दिएका हुन् ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिइएको गृह स्रोतले जनाएको छ ।
छलफलमा गृहमन्त्री लामिछानेले महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई पनि कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
यस्तै, गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहतमा ल्याउने प्रक्रिया सुरु गर्न पनि निर्देशन दिएका छन् ।