काठमाडौं, चैत ८ । पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली भएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना छ । काठमाडौँमा मध्याह्नपछि वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका केही स्थानमा अहिले छिटपुट वर्षा भइरहेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव भोलि शुक्रबारसम्म सक्रिय रहने भएकाले देशका धेरैजसो स्थानमा यसको प्रभाव पर्ने महाशाखाले पूर्वानुमान गरेको छ । काठमाडौंसहित देशका मध्य तथा पूर्वी क्षेत्रमा शनिवारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित छिटपुट वर्षाको सम्भावना छ ।