Kath khabar
विनोद चौधरीसँग सिआइबीले लियो बयान

 

                  काठमाडौं, चैत ८ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ ।

सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको  संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो । काठमाडौँ महानगरपालिका– ३ को कार्यालय र नवराज शर्मा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजितनारायण सिंह थापा भएको बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा प्रकरणबारे सांसद चौधरीसँग पनि अनुसन्धान भइरहेको सभामुखलाई जानकारी गराइएको थियो।
    
“बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको दश रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेर सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयरधनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य सङ्घीय संसद्का सदस्य  विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ”, उक्त पत्रमा उल्लेख गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । उहाँलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी उहाँले दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update