काठमाडौँ, चैत १० । तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रुपमा परिचित हुनुहुन्छ । उहाँले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायतका चलचित्र निर्देशन गर्नुभएको थियो । तर थापा विगत १८ वर्षदेखि भने यस कर्मबाट टाढा हुनुहुन्छ ।
विसं २०६२÷६३ को जनआन्दोलनमा चलचित्रकर्मीका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका थापाले त्यसपछि नेपाल सांस्कृतिक सङ्घको स्थापना गर्नुभयो । पछिल्लो समय उहाँ कलाकारिता छाडेर राजनीतिमा सक्रिय हुनुहुन्छ । तर, थापालाई कलाकारितामा फर्किन मन नभएको भने होइन ।
“मैले फाट्टफुट्ट रुपमा अभिनय गरेँ । मैले निर्देशन गरेका चलचित्रले राम्रो प्रतिक्रिया पाए पनि व्यावसायिकरुपमा भने असफल भए । त्यो यात्रामा चलचित्रकर्मीलाई उपेक्षा भइरहेको देखेर सङ्गठित भएर आवाज उठाउनु पर्छ भन्ने लाग्यो । त्यही भएर सांस्कृतिक सङ्घको स्थापना गरेर त्यसको नेतृत्व गरेँ”, अभिनेता थापाले भन्नुभयो ।
बाल्यकालदेखि नै राजनीतिमा जोडिनुभएका अभिनेता थापाले जनआन्दोलनमा चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्नुभयो । नेपाल सांस्कृतिक सङ्घको स्थापना २०६२ सालमा गरिएको हो । तर यसको गतिविधिको सुरुआत भने २०५४ सालदेखि नै भएको थियो । सोही समयदेखि अभिनेता थापाले लोकतान्त्रिक चलचित्रकर्मीलाई सङ्गठित गर्दैआउनुभएको हो । यद्यपि सुरुआती समयमा उहाँलाई कसैको साथ प्राप्त भएन ।
“म आन्दोलनमा एक्लै पुग्थे । स्कुले जीवनदेखि नै अधिकारका लागि आवाज उठाउने भएकाले नेता र राज्यलाई आफ्नो आवाज बलियोरुपमा सुनाउनु पर्छ भनेर यस क्षेत्रको उपस्थिति देखाउँथे । तर, मलाई राजनीति ग¥र्यो भन्ने आरोप पनि लाग्ने गथ्र्याे । विस्तारै ती अधिकारका आवाज हुन् भन्ने बुझेर चलचित्रकर्मी जोडिनुभयो । म बाल्यकालदेखि नै नेपाल विद्यार्थी सङ्घसँग जोडिएकाले पनि लोकतान्त्रिक पार्टीले हाम्रो आवाज सुन्छ भन्ने लागेको हो”, अभिनेता थापाले भन्नुभयो ।
अहिलेसम्म थापाले राजनीतिज्ञका रुपमा अवसर पाउनुभएको छैन । चुनाव र प्रचारप्रसारमा मात्र आफूलगायतका कलाकार, संस्कृतिकर्मीको प्रयोग हुने गरेको उहाँले बुझ्नुभएको छ । आफ्नो क्षेत्रको प्रतिनिधित्व पार्टीमा नभएको उहाँले आभास गर्न थाल्नुभएको छ ।
“पार्टीमा विद्यार्थी, तरुण, किसानलगायत नेतृत्वमा पुगेकाहरू छन् । उनीहरूको प्राथमिकतामा आफ्नै सङ्गठनका व्यक्ति पर्छन् । हाम्रो उपस्थिति नभएर पनि हाम्रो आवाज बलियोसँग सुनिएको छैन”, अभिनेता थापाले भन्नुभयो, “म कांग्रेस महासमिति सदस्य भएँ । मैले केन्द्रीय सदस्यका रुपमा चुनाव लड्ने सोच पनि बनाए । तर, कुनै समूहबाट पनि संस्कृतिकर्मीका लागि सोचिएन । हामी चाहिँदा देखाउने र त्यसपछि थन्क्याइने गहना भयौँ ।”
विश्वभर चलचित्रको माध्यमबाट पुराना घटनाक्रम वा राष्ट्रवादी व्यक्तिको योगदानलाई नयाँपुस्तासम्म ल्याउने गरिएको छ । विशेषतः भारतमा पछिल्लो समय यस्ता चलचित्र बन्ने गरेका छन् । यद्यपि नेपालमा भने यो क्रम न्यून छ । बनेका चलचित्रले पनि दर्शकको साथ पाएका छैनन् । ऐतिहासिक विषयवस्तुलाई पर्दामा ल्याउँदा उचित अनुसन्धान र गृहकार्य नभई लगानीकर्ताका भरमा ल्याइएको बुझाइ अभिनेता थापाको छ ।
‘वीर गणेशमान’र ‘तीन घुम्ती’जस्ता चलचित्रसँग उहाँ सन्तुष्ट हुनुहुन्न । ती चलचित्र निर्माण गर्न पर्याप्त मेहनत नपुगेको उहाँले बताउनुभयो । “हामीले राष्ट्र निर्माणमा योगदान दिनुभएका व्यक्तिको कथालाई निकै सरल किसिमले ल्याइरहेका छौँ । नयाँपुस्तालाई दर्शक बनाउने गरी मेहनत गरेको देखिएको छैन । ती चलचित्रहरू निर्माणका लागि मात्र बनेका छन्”, अभिनेता थापाले भन्नुभयो ।
अभिनेता थापालाई त्यस्ता चलचित्र निर्माण गर्ने सोच नआएको पनि होइन । तर त्यसमा व्यक्तिगतभन्दा पनि राज्यको लगानी हुनुपर्नेमा उहाँको जोड छ । “निजीस्तरबाट त्यस्ता चलचित्र निर्माण हुँदा व्यावसायिक जोखिम हुन्छ । त्यसैले त्यसलाई निर्माण गर्न राज्यले सघाउनुपर्छ । निर्देशकले व्यावसायिक दायित्व बहन नगरी काम गर्ने हो भने हाम्रा पुराना कथालाई ल्याउन सकिन्छ”, उहाँले भन्नुभयो ।
अभिनेता थापा पछिल्लो समय राजनीतिसँगै चलचित्रकर्ममा सक्रियता बढाउने सोचमा हुनुहुन्छ । उहाँले केही विषयलाई छनोट गरेर काम पनि सुरु गर्नुभएको छ । तर, बढ्दो लागत र अपुग तयारीले गृहकार्यमै रहेको उहाँले बताउनुभयो ।
“मैले चलचित्र छाडेको दुई दशक हुन लाग्यो । प्राविधिकसँगै दर्शकको सोचमा पनि परिवर्तन आएको छ । बजारलाई अनुसन्धान गरेर मात्र म यस कर्ममा फर्किन्छु । तर, अब चलचित्र निर्माण गर्ने र अभिनय गर्ने इच्छा छ । त्यसतर्फ पनि लाग्छु”, अभिनेता थापाले भन्नुभयो । उहाँले सांस्कृतिक सङ्घलाई महासङ्घ बनाउनुभएको छ । विधागतरुपमा सहभागिता बढेपछि बनेको महासङ्घमा नेतृत्व गर्ने कि अरुलाई जिम्मा लगाउने भन्ने प्रश्न उहाँसामु आइरहन्छ । आफूले १८ वर्षदेखि दिँदैआएको सङ्घको नेतृत्व अब अरुलाई सुम्पिने सोचमा अभिनेता थापा हुनुहुन्छ । तर उहाँले सम्मानजनक अस्तित्वको खोजि गरिरहनुभएको छ ।
“मैले यतिलामो समय दिँदा सङ्घकै साथीहरूलाई पनि मेरो सम्मानजनकरुपमा पार्टीमा स्थान होस् भन्ने लागेको छ । म पनि त्यही खोजिरहेको छु । आफैँले नेतृत्व गर्ने कि अरुलाई दिने । यसमा साथीहरूसँग छलफल गरिरहेको छु”, अभिनेता थापाले भन्नुभयो ।