काठमाडौं, चैत १२ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । चारवटै प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती, मधेस र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।