काठमाडौं, चैत १८ । लिटल मिस एन्जल नेपाल– २०२४ को आवेदन फाराम बुधवारदेखि खुल्ला गरिएको छ । आयोजक कलश इभेन्ट्सले पाँचौ संस्करणको लिटल मिस एन्जल नेपाल २०२४ मा सहभागिताका लागि आगामी जेठ ५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
लिटल मिस एन्जल नेपाल– २०२४ को ग्रान्ड फिनाले भने आगामी ज्येष्ठ २६ गते जमल को सांस्कृतिक संस्थान ( नाच घर ) को प्रेक्षालयमा आयोजना हुने जानकारी अध्यक्ष सञ्जय महर्जनले दिएका छन् ।
कलश इभेन्ट्सले ९ देखि १३ वर्ष सम्मका बालिकाहरुको अति प्रतीक्षित लिटल मिस एन्जल नेपाल– २०२४ का लागि इच्छुक ९ देखि १३ वर्ष सम्मका बालिकाहरूलाई आवेदन दिन आग्रह गरेको हो । यसपटकको प्रतियोगिताका लागि आयोजक संस्थाले काठमाडौं उपत्यकाका बालिकाहरूले सहभागिता लिन सकिने कुरा जनाएको छ । आगामी जेठ ५ गते अभिभावक तथा सहभागी बालिकाहरूको उपस्थितिमा कार्यक्रमका बारेमा प्रारम्भिक जानकारीमूलक कक्षा सञ्चालन गरिने छ ।
यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेताहरू हुनेछन् र पहिलो दोस्रो र तेस्रो हुने प्रतियोगीहरूलाई नगद पुरस्कार सहित विजेता अवार्ड र विभिन्न गिफ्ट ह्याम्परहरुबाट पुरस्कृत गरिनेछ। यस वर्ष २०२४ को लिटल मिस एन्जल नेपाल प्रतियोगितामा न्यूनतम ९ देखि १३ वर्षका बालिकाहरूले जन्म दर्ता , एस वर्ष को विद्यालयको अन्तिम परीक्षाको नतिजाको फोटो कापी सहित इच्छुक बालिकाहरूले आवेदन दिन सक्नेछन् ।
यस वर्षको लिटल मिस एन्जल नेपाल– २०२४ प्रतियोगितामा हालसम्म आइआइएफटी फेशन डिजाइनिङ इन्स्टिच्युट सह-प्रयोजकको रुपमा रहेका छन् । प्रतियोगितालाई फराकिलो बनाउँदै यस पटक लिटल मिस एन्जल नेपाल– २०२४ प्रतियोगिताका लागि सहभागीहरूको खोजी काठमाडौंका विभिन्न विद्यालयहरूमा कलश इभेन्ट्सका टिमहरू गइ इच्छुक बालिकाहरूलाई कार्यक्रम बारे जानकारी मुलक कक्षा दिन जाने कुरा कलश इभेन्ट्सका कार्यकारी निर्देशक वर्षा महर्जनले जानकारी दिएका छन् ।
यस वर्ष कलश इभेन्ट्सले जम्मा ५० जना बालिकाहरुले सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ । लिटल मिस एन्जल नेपाल - २०२४ को तालिम जमल नाच घरको तालिम हाल मा जेठ महिनाको ७ गते बाट स्कुलपछि साँझ ५ देखि ७ बजे सम्म जम्मा ३ हप्ता दैनिक विभिन्न विषयमा तयारी कक्षा हुने छ। यस वर्ष लिटल मिस एन्जल नेपाल - २०२४ को कोरियाग्राफी प्रोफेसनल डान्स तथा फेसन कोरियोग्राफर रोहिया महर्जनले गर्ने जानकारी दिएका छन् भने ग्रान्ड फिनाले कार्यक्रम आरजे, भिजे, तथा प्रोफेसनल कार्यक्रम संचालिका उरुसा जोशीले संचालन गर्नेछिन्।
कलश इभेन्ट्सले यसै वर्षदेखि १६ देखि २३ वर्ष उमेर समूहको किशोरीहरुको लागि मिस एन्जल नेपाल -२०२४ राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।